Skip to main content
यदि तपाईंलाई अंग्रेजी बाहेक अन्य भाषामा थप सहयोग चाहिन्छ भने, अनुवाद र दोभाषे सेवा (Translating and Interpreting Service) (टी.आई.एस. नेशनल) (TIS National) लाई 131 450 मा फोन गर्नुहोस् अनि 1300 363 992 को लागि सोध्नुहोस्।

अष्ट्रेलियाली सूचना आयुक्तको कार्यालय (The Office of the Australian Information Commissioner) (ओ.ए.आई.सी.) ​​(OAIC) गोपनीयता र सूचनाको स्वतन्त्रताको लागि रहेको स्वतन्त्र राष्ट्रिय नियामक हो।

सरकारले राखेको जानकारी प्राप्त गर्न पाउने र व्यक्तिगत जानकारीलाई सुरक्षित राख्न पाउने तपाईंका अधिकारहरूलाई हामी प्रचार र समर्थन गर्दछौँ।

सूचनाको स्वतन्त्रता

अष्ट्रेलियाली सूचनाको स्वतन्त्रता ऐन १९८२ (Freedom of Information Act 1982) (एफ.ओ.आई. ऐन) (FOI Act) ले तपाईंलाई अष्ट्रेलियाली सरकार र नोर्फोल्क टापूका निकाय र मन्त्रीहरूले राखेका कागजातहरूलाई पहुँच प्राप्त गर्ने कानूनी रूपमा लागू हुने अधिकार दिन्छ। तपाईंले आफ्नो व्यक्तिगत जानकारी पूरा र अद्यावधिक छ कि छैन भनी जाँच गर्न, सरकारी निर्णयको बारेमा थप जान्न वा सरकारी नीति वा नियमकबारे रहेको छलफलमा भाग लिनको लागि यो पहुँचको अधिकारको प्रयोग गर्न सक्नुहुन्छ।

एफ.ओ.आई. ऐनले सरकारी निकायहरूलाई सूचना प्रकाशित गर्न पनि लगाउँछ। सूचना प्रकाशन योजना अन्तर्गत, निकायहरूले उनीहरूको वेबसाइटहरूमा त्यो जानकारी प्रकाशित गर्नुपर्छ जसले उनीहरू कसरी व्यवस्थित गरिएका छन् र उनीहरूले तपाईंलाई असर गर्ने निर्णयहरू कसरी गर्छन् भन्ने कुरा बताउँछ। निकाय र मन्त्रीहरूले सूचनाको स्वतन्त्रता (एफ.ओ.आई.) का अनुरोधहरूको प्रतिक्रियामा जारी गरिएका जानकारीलाई खुलासा दैनिकी (disclosure log) मा प्रकाशित गर्नुपर्छ।

ओ.ए.आई.सी. ले तपाईंलाई कसरी मद्दत गर्न सक्छ

  • समीक्षाहरू:यदि तपाईं एफ.ओ.आई. ऐन अन्तर्गत सरकारी निकायले गरेको निर्णयसँग असहमत हुनुहुन्छ भने, तपाईंले निकायलाई उनीहरूको निर्णयको समीक्षा गर्न लगाउन सक्नुहुन्छ। यदि तपाईं निकाय वा मन्त्रीको प्रतिक्रियाबाट सन्तुष्ट हुनुहुन्न भने, तपाईंले निर्णयको समीक्षाको लागि ओ.ए.आई.सी. मा पनि आवेदन दिन सक्नुहुन्छ।
  • उजुरीहरू:यदि तपाईंलाई कुनै निकायले तपाईंको एफ.ओ.आई. अनुरोध वा एफ.ओ.आई. ऐन अन्तर्गत लिइएको कुनै अन्य कारबाहीबारे चिन्ता छ भने तपाईंले ओ.ए.आई.सी. लाई पनि उजुरी गर्न सक्नुहुन्छ।

गोपनीयता

अष्ट्रेलियाली गोपनीयता ऐन १९८८ (Privacy Act 1988)ले 'व्यक्तिगत जानकारी' को सुरक्षा गर्दछ। यो भनेको तपाईंको नाम, ठेगाना, चिकित्सकीय अभिलेखहरू, बैंक खाताका विवरणहरू, फोटोहरूका साथै तपाईंलाई मनपर्ने कुराहरू, तपाईं विचारहरू र तपाईं काम गर्ने ठाउँको जानकारी सहितको तपाईंको पहिचान खुलाउने वा तपाईंको पहिचान खुलाउन सक्ने जानकारी हो।

गोपनीयता ऐनले व्यक्तिगत जानकारीको सङ्कलन र व्यवस्थापनका साथै व्यक्तिगत जानकारीको प्रयोग र खुलासा, यसको सत्यता, यसलाई कत्तिको सुरक्षित राखिएको छ भन्ने कुरा र त्यस जानकारीमा पहुँच गर्ने तपाईंको अधिकारलाई नियमन गर्छ।

गोपनीयता ऐन अष्ट्रेलियाली सरकार, नोर्फोल्क टापूका सरकारी निकायहरू र केही निजी क्षेत्रका संस्थाहरूमा लागू हुन्छ। साना व्यवसायहरूका लागि सहित केही छूटहरू लागू हुन्छन्। ऐनले राज्य र क्षेत्रीय सरकारी निकायहरूलाई समेट्दैन। कर दाखिला नम्बरहरू (tax file numbers) को व्यवस्थापनमा विशेष नियमहरू लागू हुन्छन्।

ओ.ए.आई.सी. ले तपाईंलाई कसरी मद्दत गर्न सक्छ

  • उजुरीहरू:यदि तपाईंलाई आफ्नो व्यक्तिगत जानकारीमा हस्तक्षेप भएको छ जस्तो लाग्छ भने, तपाईंले पहिले त्यस संगठन वा निकायमा उजुरी गर्नुपर्छ। यदि ३० दिन पछि पनि तपाईंले प्रतिक्रिया पाउनुभएको छैन वा पाएको प्रतिक्रियाबाट तपाईं असन्तुष्ट हुनुहुन्छ भने, तपाईंले ओ.ए.आई.सी. मा उजुरी गर्न सक्नुहुन्छ। हामी तपाईंको उजुरीबारे विचार गर्नेछौँ र मेलमिलाप मार्फत समाधान गर्ने प्रयास गर्न सक्छौँ। परिणामहरूमा माफी माग्ने, संस्थाको अभ्यास वा प्रक्रियामा परिवर्तन आउने, वा वित्तीय वा गैर-वित्तीय हानिको लागि क्षतिपूर्ति दिने समावेश हुन सक्छन्।

ओ.ए.आई.सी. लाई सम्पर्क गर्नुहोस्।

वेबसाइट

oaic.gov.au

फोनमा गरिने सोधपुछको लागि

1300 363 992 (अष्ट्रेलिया भित्र)
+61 2 9942 4099 (अष्ट्रेलिया बाहिर)

ओ.ए.आई.सी. को सोधपुछ लाइन सोमबारदेखि बिहिबार, बिहानको १० बजे देखि दिउँसोको ४ बजे (ए.ई.एस.टी./ए.ई.डी.टी.) सम्म खुला छ।

तपाईंकै भाषामा कसैसँग कुरा गर्न, अनुवाद र दोभाषे सेवा (Translating and Interpreting Service) (टी.आई.एस. नेशनल) (TIS National) लाई 131 450 मा फोन गर्नुहोस् र 1300 363 992 को लागि सोध्नुहोस्।

यदि तपाईं कान सुन्नुहुन्न वा फोनमा सुन्न वा बोल्न गाह्रो महसुस गर्नुहुन्छ भने राष्ट्रिय रिले सेवा (National Relay Service) (एन.आर.एस.) (NRS) ले तपाईंलाई मद्दत गर्न सक्छ।

अनलाइन सोधपुछको लागि

सोधपुछ फारम पेश गर्नुहोस्

हुलाक

GPO Box 5288
Sydney NSW 2001

फ्याक्स

+61 2 6123 5145

यदि तपाईं अर्को अष्ट्रेलियाली सरकारी निकाय वा मन्त्रीलाई सम्पर्क गर्न खोज्दै हुनुहुन्छ भने, कृपया अष्ट्रेलियाली सरकारको निर्देशिकामा हेर्नुहोस्।